सूचीकृत कम्पनीहरुलाई नेप्सेको निर्देशन, १५ दिनभित्र शेयर कारोबार रोक्का राख्नुपर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई शेयर कारोबार सम्बन्धि सूचना जारी गरेको छ । नेप्सेले सूचीकृत कम्पनीहरुलाई संगठित संस्थासँग आबद्ध भएका व्यक्तिहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको शेयर सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा १५ दिनसम्म शेयर कारोबार रोक्का राख्न भनेको हो ।
नेप्सेले संगठित संस्थाको संचालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न ब्यत्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य ब्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन भन्ने व्यवस्था बमोजिम यस्तो निर्देशन दिएको हो ।
नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ४८ अनुसार सूचीकृत कम्पनीहरुलाई १५ दिनभित्र त्यस्ता खालका धितोपत्र रोक्का राख्न निर्देशन दिएको हो ।













