धितोपत्र बजार पुँजीकरण साढे २७ खर्बमाथि, ९ अर्ब २९ करोड रुपैयाँको बोनस शेयर सूचीकृत

२९ मंसिर २०७९, बिहीबार १६:२६

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत आवको तुलनामा धितोपत्र बजार पुँजीकरण घट्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार धितोपत्र बजार पुँजीकरण कात्तिक महिनासम्म ह्वात्तै घट्न पुगेको हो । गत आवको यसै अवधिसम्म ३९ खर्ब १६ अर्ब ४५ करोड रुपैयाँ रहेको धितोपत्र बजार पुँजीकरण यस अवधिसम्म २७ खर्बमा सीमित हुन पुगेको हो ।
२०७८ कात्तिकमसान्तमा २७८४.६ रहेको नेप्से सूचकाङ्क २०७९ कात्तिकमसान्तमा १९११.३ कायम भएको छ ।

२०७९ कात्तिकमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६० जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २२२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.३ प्रतिशत, लगानी कम्पनीको ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटलेको हिस्सा १.७ प्रतिशत, ब्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.७ प्रतिशत रहेको छ ।

त्यस्तै कात्तिक मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९ अर्ब २९ करोड रुपैयाँ बराबरको बोनस शेयर, ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र २ अर्ब ३७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ८७ अर्ब १७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*