बैंक अफ काठमाण्डूको स्वेच्छिक अवकाश योजना, २७ महिनासम्मको तलबदेखि बेस रेटमै ऋण पाउनेसम्मको सुविधा

१ पुष २०७९, शुक्रबार १३:४८

काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकबीच मर्जर हुने भएपछि बैंक अफ काठमाण्डूले आफ्ना कर्मचारीलाई स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएको छ।मर्जरमा जाँदा कर्मचारी समायोजनमा समस्या हुने भएपछि बैंकले आफ्ना कर्मचारीलाई भीआरएस योजना ल्याएको हो। भीआरएसमा जाने कर्मचारीहरूले योजनाअनुसार १० महिना देखि २७ महिनासम्मको तलब पाउने छन्।

जसमा ५ वर्षसम्म काम गरेका कर्मचारीले १० महिनाको तलव पाउने छन् भने सबैभन्दा धेरै २५ वर्षमाथि काम गरेका कर्मचारीहरूले २७ महिनाको तलब पाउने छन्। योजनाअनुसार अन्य सुविधासमेत पाउनेगरी बैंक र कर्मचारीबीच सहमति भएको हो।

बैंकमा ५ वर्षसम्म काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकाश रोज्दा ११ महिनाको तलब पाउने छ । यस्तै, ५ वर्षसम्म काम गरेका सिनियर म्यानेजरदेखि माथीका कर्मचारी स्वेच्छिक अवकाशमा जाँदा १० महिनाको तलब पाउने छ ।

५ देखि १० वर्ष काम गरेका एसिस्टेन्ट म्यानेजरदेखि म्यानेजरसम्मका कर्मचारीले स्वेच्छिक अवकाश रोज्दा १६ महिनाको तलब दिने योजना बनाएको बैंक अफ काठमाडौंले सिनियर म्यानेजरदेखि माथिका कर्मचारीलाई भने १५ महिनाको तलब दिने छ ।
स्वेच्छिक अवकाश योजनामा सहभागी भएर सेवानिवृत्त हुने कर्मचारीले बैंकबाट ऋण लिएको भए ऋण अवधी समाप्त नहुँदासम्म बेस रेटमै ऋण दिने योजना बैंकले ल्याएको छ ।

मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके लिमिटेड भएको छ। बैंकको एकीकृत कारोबार पुस मसान्तभित्रै गर्नेगरी प्रक्रिया अगाडि बढेको छ। मर्जरपछि नेपालकै सबैभन्दा ठूलो बैंक हुने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*