शेयरबजारमा २७ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा २७ अंकको गिरावट आएको छ । अघिल्लो साता अर्थात् मंसिर महिनामा उतारचढाव देखिएको शेयरमार्केट पुष महिना लागेसँगै भारि गिरावट देखिएको हो ।
गत आार्थिक वर्षको पुष महिनामा तरलता अभाव चर्किदै गएपछि शेयरबजारमा भारि गिरावट आएको थियो । त्यसलगत्तै क्रमिक सुधार देखिदै आएको शेयरबजारमा चालु आर्थिक वर्षको पुष महिना लागेसँगै फेरी तरलता अभाव सुरु हुन थालेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि एक सार्वजनिक कार्यक्रममा पुष महिना तरलताका लागि चूनौतीपूर्ण हुने मन्तब्य राखेका थिए ।
यसैको प्रभावले पनि पुष महिनाको पहिलो कारोबार दिन शेयरबजारमा २७.५४ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स आज १८५५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजार घटेपनि कारोबारमा भने सुधार देखिएको छ । नेप्सेले दुई दर्जन जति कम्पनीको शेयर कारोबार फुकुवा गरेसँगै कारोबार रकम पनि बढ्न पुगेको हो ।












