हालसम्म सातवटा लघुवित्त संस्थाले गर्यो लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरुमध्ये हालसम्म ७ वटा लघुवित्त संस्थाहरुले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।
५० भन्दा बढी नेप्सेमा सूचीकृत लघु्वित्त संस्थाहरु मध्ये गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने संस्थाहरुमा जाल्पा सामुदायिक, आरएसडीसी, आरएमडीसी, साना किसान, गुराँस, फरस्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्स लुघवित्त रहेका छन् ।
अन्य कम्पनीहरुको तुलनामा लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्षमा आर्जन गरेको संचित मुनाफाबाट शेयरधनीहरुलाई राम्रै प्रतिफल दिने गरेको छ । संचालनमा रहेका ६६ लघुवित्त संस्थाहरुमध्ये पनि केही संस्थाहरु मर्जर प्रक्रियामा रहेका छन् । बैंकहरुले भटाभट लाभांश घोषणा गरिसक्दा पनि लघुवित्त संस्थाहरुले भने लाभांश वितरणमा केही ढिलाई गरेको देखिएको हो ।
७ लघुवित्त संस्थाहरु मध्ये पनि सबैभन्दा पहिले र सबैभन्दा बढी धेरै लाभांश घोषणा गर्ने संस्थामा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७३ प्रतिशत बोनस शेयर र ३.८४२१ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

त्यस्तै, दोस्रो धेरै लाभांश प्रस्ताव गर्ने संस्थामा साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त रहेको छ । सरकारी लगानी रहेको साना किसान र आरएमडीसी लघुवित्त संस्थाले आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र १.३६८४ प्रतिशत नगद लाभाश गरी कुल २७.३६ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ ।
यस्तै, फरवार्ड माइक्रोफाइनान्सले पनि आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै फर्स्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश, आरएडीसी लघुवित्तले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ११ प्रतिशत लाभांश र गुराँस लघुवित्तले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१०५ प्रतिशत नगद लाभांश गरी कुल ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यी सबै लघुवित्तको लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् संस्थाहरुको आ–आफ्नै वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ । सातै वटै लघुवित्तले हालसम्म साधारण सभा र बुकक्लोजको मिति तोकिसकेको छैन ।












