हिमालयन उर्जा विकास कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष २९ गते अर्पण बैङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
यसका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागि संचालक पदमा नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १८ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ पुष १६ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यस वर्ष शेयरधनीहरुको हात खाली हुनेछ ।












