३०% लाभांश प्रस्तावसहित फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा डाकेको हो । सभा पुष ३० गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजे बस्नेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै सभाले संस्थाको अधिकृत, जारी तथा चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य कुनै लघुवित्त संस्थाहरुसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्ष २०७८।७९ को वार्षि प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आव २०८९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष १७ गते एकदिन बुकक्लोज गर्ने भएको छ । यसअनुसार पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।












