कुमारी बैंक र एनसीसी बैंकको एकिकृत कारोबारको मिति तय, दुई दिन बैंकिङ्ग सेवा अवरुद्ध हुने

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी)ले मर्जरपश्चात पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ। यी दुबै बैंकहरुले कुमारी बैंक लिमिटेडको नाममा एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।
मंसिर २५ गते सम्पन्न यी बैंकहरुको विशेष साधारण सभाले १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए। एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस ६ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो।
पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माइग्रेशन प्रयोजनार्थ पुस १५ र १६ गते सार्वजनिक बिदाका दिन यी दुबै बैंकहरुले प्रदान गर्दै आइरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने भएको छ।
यी दुवै बैंक मर्जर भएपश्चात् चुक्ता पूँजी २६ अर्बभन्दा बढी हुनेछ भने शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर ५१ वटा हुने बताइएको छ । बैंकको निक्षेप ३ खर्ब १ अर्बभन्दा बढी र कर्जा २ खर्ब ७८ अर्बभन्दा बढी हुनेछ ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् ।












