दुई वाणिज्य बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । दुई वाणिज्य बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्राइम कमर्सियल बैंक, नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआइडीसीएल)ले पुष १४ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै यी चार कम्पनीको लाभांश पाउनेछन् ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुष २८ गते कार्की बैङ्क्वेट बबरमल काठमाडौंमा बिहान ११ बजे बस्नेगरी १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
नेपाल बैंक
नेपाल बैंकले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेकोछ । उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुष २९ गते बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी ६३औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
मितेरी डेभलपमेन्ट बैंक
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले सो लाभांश प्रस्ताव पारित गर्न पुष २७ गते सुनसरी चेम्बर अफ कमर्स, धरान १ सुनसरीमा बिहान ११ बजे बस्नेगरी १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
एचआइडीसीएल
एचआइडीसीएलले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले माघ २७ गते अर्पण बैंक्वेट थापागाउँ, नयाँबानेश्वर काठमाडौ)मा बिहान १० बजे बस्नेगरी ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।












