बैंक अफ काठमाण्डूमा क्लियरिङका चेक मेसिनबाटै जम्मा गर्न सकिने, कुन–कुन शाखामा छ यो सुविधा ?

१३ पुष २०७९, बुधबार ११:४३

काठमाडौं । बैंक अफ काठमाण्डूले अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ चेकहरु कियोस्क मेसिनबाट जम्मा गर्न सकिने सेवाको शुभारम्भ गरेको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त सेवाको सुरुवात गरेको हो ।

यस नयाँ सेवामार्फत ग्राहकले बिना कुनै झन्झट सजिलैसँग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । यो सेवाको शुभारम्भपश्चात् ग्राहकले भौतिक रुपमा कुनै भौचर नभरीकन केवल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ।

ग्राहकलाई सहज बैंकिङ प्रदान गर्नुपर्छ भन्ने अभिप्रायले बैंकले ल्याएको यो सुविधामा ग्राहकले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएकाहरुको सम्पर्क नम्बर तथा क्लियरिङ सेसनलगायतका विवरणहरु राखेपश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्न सकिनेछ। उक्त चेक जम्मा भएपश्चात् ग्राहकले चेक जम्मा भएको प्रमाणीकरणका लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गर्नेछन्।

बैंकले उक्त सेवा हालका लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ। कियोस्क मेसिनमार्फत क्लियरिङ चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नका लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई छुटकारा मिल्ने विश्वास बैंकले लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*