सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न भएको हो ।
सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पारित गरिएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने तथा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि पारित गरिएको छ ।
त्यसैगरी, सभाले प्रभु बैंकसँग गाभिने सम्बन्धमा छलफल गरी पारित गर्ने तथा संयुक्त प्राप्ति समितिले गरेको निर्णय लगायतका सम्पूर्ण कार्य अनुमोदन गरेको छ । सभाले प्रभ बैंकसँग १ः१ सेयर स्वाप रेसियोमा गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुष ४ गते बुकक्लोज गरेको थियो । यसर्थ पुष ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।












