शेयरबजारमा उछाल, नेप्से ६४ अंकले बढ्दा ट्रेडिङ इन्डेक्समा सर्किट

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा कायम भएको छ ।
अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आगमनसँगै शेयरबजारमा रौनकता छाउन थालेको छ । पौडेल अर्थमन्त्री बनेसँगै १८ सयको विन्दुमा कायम रहेको नेप्से इन्डेक्स आज बढेर २१२५ को विन्दुमा उक्लिएको छ । आम लगानीकर्ताहरुमा शेयरबजार अझै माथि उक्लिने आशावादी बनेका छन् ।
नेप्सेमा सूचीकृत २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५० करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
साथै नेप्सेमा रहेका १३ इन्डेक्समा नै आज हरियाली छाएको छ । सर्वाधिक आज व्यापार इन्डेक्स ९.७४ प्रतिशतले बढेको छ । व्यापार इन्डेक्समा सर्किट लागेसँगै आज शेयरबजारमा साढे ३ अर्बको कारोबार हुन पुगेको हो । त्यस्तै, लगानी सूचकको ५.७२ प्रतिशत र माइक्रोफाइनान्स सूचक ५.६७ प्रतिशतले बढेको छ ।












