एनआइबिएल ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

२१ पुष २०७९, बिहीबार १०:२६

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएल ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो फण्डको इकाईका लागि आज (पुस २१ गते) बैकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई निष्काशन गरेको हो। सोमध्ये १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ८ करोड इकाई बिक्री हुनुपर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ।

यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*