शेयर बजार प्रभावित नहुने गरी शेयर राफसाफ गर्न चार बैंकलाई नेप्सेको पत्र

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकीकृत कारोबारका लागि बैंकिङ सेवा बन्द गर्दा शेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि चार बैंकहरुलाई पत्र पठाएर शेयर कारोबार प्रभावित हुने गरी राफसाफ नरोक्न पत्राचार गरेको छ ।
प्राविधिक कारण तीन दिनमा छ वटा प्रमुख बैंकका तीन मर्जरका लागि डाटा माइग्रेट गर्ने कार्यका लागि सर्भर डाउन गरिएका कारण सर्वत्र बैंकिङ सेवा प्रभावित बनेको छ ।नेप्सेले आज चार बैंकहरुलाई पत्र पठाएर नेप्से सुचारु राख्न आग्रह गरेको जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले चार बैंकलाई राफसाफमा समस्या देखिने भएकाले चार मर्जरमा जाने कम्पनीलाई सुचारु राख्न आज पत्र पठाएको बीमापोष्टलाई जानकारी दिएका छन् ।
धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रुपमा काम गरिरहेका प्रभु बैक र ग्लोबल आईएमई बैंंकले बैंकिङ सेवा एकीकृत कारोबारका लागि डाटा माइग्रेसन गर्न बैंकिङ सेवा बन्द हुन गरिएको छ । प्रभु र ग्लोबल आइएमईसँगै सिद्धार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक गरी चारवटा बैंकले क्लियरिङ बैंकको काम गर्दै आएका छन् ।
डाटा माइग्रेसनका लागि बैंकिङ सेवा बन्द गर्दा सेयर कारोबारको सेटलमेन्ट प्रभावित हुने भएपछि प्रभु बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई समस्या निराकरणका लागि विकल्प निकाल्न छलफलका भईसकेको सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले बताए । उनले ग्लोबल आइएमई बैंक सकारात्मक रहेको भएपनि प्रभु बैंकले भने कुनै प्रतिकृया नदिएको उनले बीमापोष्टलाई बताए ।
कारोबारको राफसाफमा समस्या आउन सक्ने देखिएपछि ती बैंकलाई आज छलफलमा डाकिएको आचार्यले बताए । ‘ब्रोकरको खाता तिनै बैंकमा रहेकोले आइतबार र सोमबार राफसाफमा समस्या आउन सक्छ’, उनले भने, ‘डाटा माइग्रेसनकै कारण बैंकिङ सेवा बन्द हुँदा सेयर बजारको कारोबार प्रभावित हुन नदिन बैकल्पिक व्यवस्था गर्न छलफल केन्द्रित हुनेछ’, उनले भने।
बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आईएमई बैंकले भोलि सोमबारबाट एकीकृत कारोबार सुरु गर्दैछ । यसका लागि बैंकले आइतबार बैंकिङ कारोबार बन्द गरेको छ । ग्लोबल बैंकको आजको काम प्रभावित भएपनि भोलिबाट भने सुचारु हुनेछ ।
उता, सेञ्चुरी बैंकलाई गाभेको प्रभु बैंकले एकीकृत कारोबारका लागि डाटा माइग्रेसन गर्न मंगलबार बिहानसम्म ९ः४५ सम्म सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने जनाएको छ ।












