अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा गभर्नर अधिकारी सहभागी, मुलुकलाई दिगो आर्थिक बाटोतर्फ लैजानुपर्नेमा जोड

२४ पुष २०७९, आईतवार १४:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुस २२ गते अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘साउथ एशिया ‘South Asia’s Path to Resilient Growth’ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा कोषद्वारा प्रकाशित ‘South Asia’s Path to Resilient Growth’नामक पुस्तक सार्वजनिक गरिएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशकAntoinette Sayeh ले उक्त पुस्तकमा समेटिएका विषयवस्तुको सारांश प्रस्तुत गरे ।

सम्मेलनको High Level Policy Panel Discussion मा विशेषज्ञ वक्ताका रूपमा गभर्नर महाप्रसाद अधिकारीले कोभिड – १९ पछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै यसबाट पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको धारणा राखे । सो कार्यक्रममा उनले विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रूपमा लिई विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्फत मुलुकलाई दिगो आर्थिक बाटोतर्फ लैजानुपर्ने आवश्यकता वृद्धिको औल्याए ।

सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशक Antoinette Sayeh को उपस्थितिमा आयोजित Closed Group Meeting मा गभर्नर अधिकारीले कोषको नयाँ दिल्लीस्थित तालिम केन्द्रले सार्क मुलुकका केन्द्रीय बैंकको क्षमता विकासमा महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै आगामी दिनमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउन कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सम्मेलनमा भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले समेत विशेषज्ञ वक्ताको रूपमा धारणा राखेका थिए ।
सम्मेलनको उद्घाटन सत्रमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेष वक्ताका रूपमा सम्बोधन गर्दै सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राखे । उनले मूल्य वृद्धि नियन्त्रण, बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वयलगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषको उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको सहभागिता थियो । उक्त सम्मेलनमा सहभागी भई गभर्नर अधिकारी पुस २३ गते स्वदेश फर्केका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*