लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर सम्झौतामा हस्ताक्षर भोलि हुँदै, यस्तो छ स्वाप रेसियोको प्रस्ताव

काठमाडौं । लक्ष्मी र सनराइज पनि मर्जरमा जाने सहमती बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ। पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने सहमती गर्न लागेका हुन्। दुबै बराबरी हैसियत अर्थात १ः१ को सेयर आदन प्रदान अनुपातमा गाभिने भएका छन्।
मर्जरपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउने र प्रमुख कार्यकारी अधिकृत सिईओ दुवै बैंकबाट सहमतिमा राखिने तयारी छ। मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने छ।
लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि २१ अर्ब ६५ करोड चुक्ता पुँजी हुनेछ। लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।
ग्राहकलाई दिइएको ऋण लक्ष्मीको एक खर्ब २९ अर्ब ६१ करोड छ। सनराइज बैंकको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ। निक्षेप लक्ष्मीको एक खर्ब ४० अर्ब १२ करोड र सनराइज बैंकको एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ।
यसअघि प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंक मर्ज भएर प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर ग्लोबल आईएमई बैंकका रूपमा पुसभित्र एकीकृत कारोबार गर्ने कार्यसूची सार्वजनिक गरिसकेका छन्।
उता, हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जर भएर माघ तेस्रो साता एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन्। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान दिएको समयसीमा पुस मसान्तमा सकिँदैछ।












