२१ बैंक वित्तीय संस्था गाभिएर खडा भयो ग्लोबल बैंकको विशाल साम्राज्य

रिना खत्री
२५ पुष २०७९, सोमबार ०६:०८

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकिङ क्षेत्रमा खडा गरेको विशाल साम्राज्यको पछाडि कस कसको योगदान रहेका छन् भन्ने कुरा आज धेरैले बिर्सिसकेका छन् । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूसँग मात्र मर्जर गरेर मुलुककै ठूलो बैंक बन्न सफल भएको होइन् । यसको सफलताको पछाडि छुट्टै इतिहास छ ।

ग्लोबल आईएमई बैंक बन्नु अघि चन्द्र ढकालसहितको लगानी सञ्चालित ग्लोबल बैंक र अर्को संस्था आईएमई फाइनान्सियल इन्स्टीच्यूशन भन्ने थिए ।क्रस होल्डिङमाथि कडाई गरिएपछि पहिलो पटक ग्लोबल बैंक र आईएमई फाइनान्सियल इन्स्टीच्यूशनबीच मर्जर गरिएको थियो ।

आजको ग्लोबल आईएमई बैंकको विशाल साम्राज्यभित्र नेपालका २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा (क) वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।

देशको ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बन्नुअघि दुई वाणिज्य बैंक सहित २१ बैंक तथा वित्तीय संस्थाको अस्तित्व यसले आफूमा समाहित गरेको छ । ग्लोबल आईएमई बैंक र कमर्स एण्ड ट्रष्ट बैंक यसमा गाभिए ।

गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक यसमा मिसिएका छन् ।

यस्तै, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबलमा मिलेका छन् ।आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि ग्लोबलमा अटाएका छन् ।

२०६८ सालतिर तत्कालीन नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले एउटै समूहबाट लगानी भएका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान नयाँ नीति अगाडि सारेका थिए ।

त्यसपछि धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा सामेल भए पनि ग्लोबल आईएमई बैंकको मर्जरको इतिहास फरक छ । यस बैंकले हालसम्म बैंक अफ काठमाण्डूसहित २१ वटा बैंक तथा वित्तिय संस्थासँग मर्ज गर्न सफल भई मुलुककै सबै भन्दा ठूलो बैंक बनेको छ ।

राष्ट्र बैंकले ल्याएको मर्जरको नीतिलाई पहिलो पटक कार्यान्वयन गर्ने एक मात्र बैंक हो ग्लोबल आईएमई बैंक । ग्लोबल आईएमई बैंकको नाम पहिले ग्लोबल बैंक मात्र थियो ।

बैंकको इतिहास पल्टायर हेर्ने हो भने २०६८ साल ग्लोबल बैंक र आइएमई फाइनान्स मर्ज भएका थिए । ग्लोबल बैंक र आईएमई फाइनान्स दुवै संस्थाका मुख्य लगानीकर्ता आईएमई ग्रुप नै थियो । त्यसैले नेपाल राष्ट्र बैंकको नीतिले पनि ग्लोबल बैंक र आईएमई फाइनान्सबीचको मर्जरलाई स्वीकृति दियो । र ग्लोबल बैक मुलुककै पहिलो मर्जर गर्न सफल बैंकको रुपमा परिचित भयो ।

मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बैंक रहन पुग्यो । ग्लोबल बैंक र आईएमई फाइनान्सबीच मर्जर प्रक्रिया चलिरहेको बेला लर्डबुद्ध फाइनान्सलाई पनि गाभ्ने प्रक्रिया सुरु भयो र आईएमई फाइनान्ससँगै लर्डबुद्ध पनि ग्लोबलमा गाभिए । दुवै संस्था ग्लोबल बैंकमा आएपछि २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकको मर्जर र प्राप्ति त्यतिमै रोकिएन। नौ महिनापछि फेरि सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक पनि ग्लोबल आईएमई बैंकसँग गाभिए।सन् २०१३ मा तीनवटा संस्थासँग मर्जरमा गइसकेपछि ग्लोबल आइएमई बैंकले व्यवसायिक सफलता हात पार्न थालिसकेको थियो। त्यस लगत्तै अर्को वर्ष ‘बैंक अफ दि इयर २०१४’बाट सम्मानित भयो।

राष्ट्र बैंकले आफ्नो समूह बाहेक अरु संस्थालाई पनि मर्जर गर्ने नीति ल्याएपछियसै वर्ष बैंकले ‘क’ समूहको कमर्स एन्ड ट्रस्ट बैंकलाई पनि आफूमा गाभ्यो। सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ अवार्ड हात पारेको ग्लोबल आईएमईले आफ्नो समूहभन्दा बाहिरका दुई संस्थालाई पनि मर्जर गर्ने प्रक्रिया अगाडि बढायोर प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग मर्जर भयो।

त्यसपछि बैंकले हाथवे फाइनान्ससँग पनि मर्जर गरी एकीकृत कारोबार गर्न थाल्यो । त्यसपछिबैंकको चुक्ता पुँजी ८ अर्बभन्दा धेरै भयो ।स–साना संस्थासँग मर्जर गरी सफलता हात पारेको ग्लोबल आईएमई बैंकले २०७६ सालमा ‘बिग मर्जर’ गर्ने योजना बनायो । र जनता र ग्लोबल आईएमई बैंक मर्जरमा गए ।

त्यसपछि एकीकृत कारोबार ०७६ मंसिर २० गतेदेखि सुरु गरेको बैंकले जनाएको छ । बैंकका अनुसार जनता बैंकसँग मर्जर भएपछि ग्लोबल आईएमई बैंक ठूलो बैंक बन्न पुग्यो।जनता बैंकसँग ८ अर्बको चुक्ता पुँजी र ग्लोबल आईएमईसँग १२ अर्बभन्दा धेरै चुक्ता पुँजी थियो । दुबै मिलाउँदा झन्डै २० अर्बको चुक्ता पुँजी भयो ।

ग्लोबल आइएमई बैंक र जनताबीचको मर्जर पूर्ण रुपमा सफल भएको बैंकले जनाएको छ । त्यसपछि पनि बैंकले मर्जरमा जाने क्रम जारी नै राख्यो । र हालसम्म २१ वटा संस्थासँग मर्जर गर्न सफल भएको छ । ग्लोबल आईएमई बैंकले नेपालमा मात्र होइन विदेशमा पनि कार्यालय विस्तार गरेको छ । बैंकको सम्पर्क कार्यालय अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया र भारतमा पनि रहेको बैंकले जनाएको छ ।

बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएपछि बिग मर्जरको विषयले झन महत्व पाउँदै गएको छ । ०७६ सालमा जनता बैंकसँग बिग मर्जर गरी सफता हात पारेको बैंकले २०७९ सालसम्म आइपुग्दा फेरी अर्को बिग मर्जर गर्न सफल भएको छ ।

सरल र सुलभ बैंकिङ सेवालाई आत्मसात गर्दै अघि बढेको बैंकमा आबद्ध करिब ४० लाख सँगै तीन खर्ब ८० अर्बभन्दा बढि निक्षेप परिचालन हुनेछ भने तीन खर्ब ६४ अर्ब भन्दा बढि कर्जा परिचालन भएको हुनेछ । नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा कूल राजश्वको झण्डै २५ प्रतिशत निक्षेप ग्लोबल आइएमई बैंकसँग हुनेछ।

बैंकले गत पुस १७ गते दुवै बैंकलाई पत्राचार गर्दै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान दिईसकेको छ । दुवै बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत पुस १९ गते एकीकृत कारोबारका लागि स्वीकृति पाईसकेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ स्वाप रेसियोमा मर्जरमा गएका हुन् । बैंक अफ काठमाण्डुको १०० कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन्।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं। २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।आजबाट बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ ।

बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछ ।

मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*