१८ लघुवित्त मर्जरमा सामेल, चुक्तापुँजीमा कुन बलियो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । बैकिङ्ग क्षेत्रमा यतिबेला वाणिज्य बैंकहरुको बिग मर्जरको लहर चलिरहेको छ ।
केन्द्रीय बैंकले विशेषगरी बैंक तथा लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउने रणनीति लिएको छ । यसै अनुरुप केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिको समिक्षामा फागुन मसान्तभित्र मर्ज हुने बैंक तथा वित्तीय संस्थालाई सहुलियत प्रदान गर्ने तथा छुट दिने घोषणा गरेको थियो ।
मर्जरको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउन थालेपनि बैंक र लघुवित्तहरु धमाधम मर्ज हुन थालेका हुन् । हालसम्म १८ वटा लघुवित्त संस्थाहरुले एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरिसकेका छन् ।
मर्जर सम्झौता गर्ने संस्थाहरुमा सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त, साना किसान विकास लघुवित्त र आरएमडीसी, डिप्रोक्स र आदर्श, नेशनल माइक्रोफाइनान्स र समीट, धौलागिरी र खप्तड, सामुदायिक र बीपीडब्लु, नेरुडे र मिर्मिरे, स्वरोजगार र समता घरेलु, नयाँ सारथी र बिजय लघुवित्तले एकआपमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । मर्जरपछि चार लघुवित्त संस्थाको चुक्तापुँजी अर्बमाथि हुनेछ । जसमा साना किसान विकास लघुवित्त र आरएडीसी लघुवित्तको चुक्तापुँजी भने २ अर्बमाथि हुनेछ ।
सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त
सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच गत असार २२ गते मर्जर सम्झौता भएको थियो । सिवाइसी नेपाल लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ भने आँधिखोला लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जामा रहेको छ ।
दुवै संस्थाले प्रारम्भिक मर्जर सम्झौतामा स्वाप रेसियो तोकेको थिएन । स्रोतका अनुसार डीडीएपश्चात नै स्वाप रेसियो तय हुन जनाएको छ । दुई संस्था मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी २२ करोड १६ लाख पुग्नेछ ।
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त
साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।
मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार हुनेछ । मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । तर कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएपश्चात नै चुक्तापुँजी तय हुनेछ ।
डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त
डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्झौता भएको हो । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी १ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ ।
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त
नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच गत असोज २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति पनि प्रदान गरिसकेको छ ।
प्रारम्भिक सम्झौता अनुसार दुवै लघुवित्त १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् बन्ने लघुवित्तको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त रहने सहमति भएको छ । फागुन भित्र एकीकृत कारोबार गर्ने लक्ष राखिएको छ । दुई संस्था मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।
धौलागिरी लघुवित्त र खप्तड लघुवित्त
धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच गत मंसिर १८ गते सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले पुस १८ गते सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।
मर्जर पश्चात् धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जपछि बैशाखसम्म एकीकृत करोबार गर्ने लक्ष लिइएको छ भने स्वाप रेसियो डीडीए रिपोर्ट अनुसार निर्धारण गरिनेछ । धौलागिरी लघुवित्तको केन्द्रिय कार्यालय बागलुङलाई मुख्य कार्यालयका रुपमा तोकिएको छ । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १४ करोड ३१ लाख रुपैयाा पुग्नेछ ।
सामुदायिक लघुपित्त र वीपीडब्लु लघुवित्त
सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच गत पुस १ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तको स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार निर्धारण गरिने स्रोतले जनाएको छ ।‘बिपीलब्ल्यू लघुवित्त धितोपत्र बजारमा सूचीकृत हुन बाँकी छ, आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ, सर्वसाधारणका लागि सेयर जारी गरेपश्चात् सेयर मूल्यलाई आधार मानेर डीडीए रिपोर्ट तयार गरिने जनाइएको छ ।
मर्जर पश्चात् सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १५ करोड रुपैयाँ पुग्नेछ । तर एकीकृत कारोबार भन्दा अघि नै वीपीडब्लु्ले आइपीओ निष्काशन गरेमा चुक्तापुँजी बढ्नेछ । सामुदायिक लघुवित्तको हालको केन्द्रिय कार्यालयलाई केन्द्रिय कार्यालयको रुपमा तोकिएको छ ।
नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त
नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते मर्जर सम्झौता भएको हो । मोरङ्गको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । डीडीए रिपोर्टमा धेरै तलमाथी भए सोही अनुसार मर्ज हुने जनाइएको छ ।
मर्जर पश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी १ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।
स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त
स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच पुस १८ गते प्रारम्भिक सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ । तर, डीडीए रिपोर्टमा फरक आएमा सोही बमोजिम मर्ज हुने भनिएको छ ।
दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । राष्ट्र बैंकको स्वीकृति पश्चात् ६ महिना अर्थात् जेठ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको छ । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी ८५ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।
नयाँ सारथी लघुवित्त र बिजय लघुवित्त
नयाँ सारथी र विजय लघुवित्तबीच गत मंसिर २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ ।
दुवै लघुवित्तबीच बैशाख मसान्तसम्म एकीकृत कारोबार गर्न लक्ष्य लिएको छ । मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट उकीकृत कारोबार हुनेछ । नयाँ सारथीको केन्द्रिय कार्यालयलाई मुख्य अफिसका रुपमा तोकिएको छ । मर्जर पश्चात् बन्ने लघुवित्तको चुक्तापुँजी ६२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।












