२३ अर्बको चुक्तापुँजीसहित विशाल बन्दै प्रभु बैंक, भोलिबाट सेन्चुरीलाई गाभेर एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा मर्जरको लहर छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउने रणनीति लिएर फागुन मसान्तसम्म मर्जरमा जाने बैंकहरुलाई सहुलियत प्रदान गर्ने तथा छुट दिने सुविधा दिने भएसँगै बैंकहरु धमाधम मर्ज हुन थालेका हुन् ।
मर्जरको विषयलाई लिएर चर्चामा रहेका प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक लिमिटेडले एक आपसमा मर्ज भई भोलि (पुस २६ गते) मंगलबारदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु हुनेछ । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । पुस १७ गते आइतबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते सेन्चुरी कमर्सियल बैंकको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने स्रोतले जनाएको छ ।
मर्जपछि बैंकको नाम प्रभु बैंक रहनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरी कमर्सियल बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ बढी रहेको छ । मर्जपछि बैंक प्रभु बैंकको चुक्ता पुँजी बोनस शेयर जारी पश्चात २३ अर्ब ५० करोड रुपैयाँ बढी हुनेछ ।
मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा रहने छ । प्रभु–सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा गाभेको हो ।
दुई बैंकबीच गत साउन १५ गते एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको थियो । सम्झौतापत्र (एमओयू)मा प्रभु बैंकका अधयक्ष लिला प्रसाद सिटौला र सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
मर्जपछि प्रभु् बैंकले २३ अर्बको चुक्तापुँजी खडा गर्दै आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा सुविधा प्रदान गर्नेछ । “व्यक्ति, परिवार र व्यवसायहरूलाई आर्थिक स्वतन्त्रता प्राप्त गर्न र उनीहरूको आर्थिक कल्याण सुधार गर्न सहयोग गर्न’ भिजन राखेर स्थापना भएको प्रभु बैंकले सेन्चुरी बैंकसँगको मर्जपछि २६ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नेछ ।
साथै एकीकृत कारोबारपछि प्रभु बैंकको कुल ३६५ शाखा कार्यालयहरु पुग्नेछ भने ७३ वटा एक्सटेन्सन काउन्टर पुग्नेछ । साथै बैंकको ३१० वटा एटीएम हुनेछ ।
मर्जरपछि प्रभु बैंकको कुल निक्षेप २ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ भने बैंकको कुल कर्जा लगानी २ अर्ब ३६ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकको लगानी ५० अर्ब ४१ करोड ९४ लाख रुपैयाँ पुग्नेछ । साथै सेन्चुरीलाई प्राप्ति गरेपछि प्रभु बैंकको कुल कर्मचारी संख्या करिब ४ हजार पुग्नेछ ।












