लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रोसियोमा थपघट हुन सक्ने सहमती

काठमाडौं । लक्ष्मी र सनराइज बैंकको मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुबै बैंकबीच आज (पुस २५) गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पुसभित्र मर्जर गरी एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले विभिन्न सुविधा दिने भएकाले लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने सहमती गर्न लागेका हुन्।
दुबै बराबरी हैसियत अर्थात १ः१ को सेयर आदन प्रदान अनुपातमा गाभिने भएका छन्। सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांन (डीडीए)को प्रतिवेदनमा ५ प्रतिशतभन्दा बढिको ‘भेरिएसन’ आएमा स्वाप रेसियो घटबढ हुन सक्ने सहमती भएको छ। गाभिएपछि नाम लक्ष्मी सनराइज बैंक हुने छ।
गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्। दुबै बैंकबाट दुई-दुई जना हुने गरी मर्जर समिति बनाइएको छ।
लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि २१ अर्ब ६५ करोड चुक्ता पुँजी हुनेछ। लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।
ग्राहकलाई दिइएको ऋण लक्ष्मीको एक खर्ब २९ अर्ब ६१ करोड छ। सनराइज बैंकको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ। निक्षेप लक्ष्मीको एक खर्ब ४० अर्ब १२ करोड र सनराइज बैंकको एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ।












