प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आजबाट एकीकृत कारोबार सुरु हुँदै

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार हुँदैछ । मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार आजबाट सुरु आजबाट हुँदैछ ।दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो।
दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते आईतबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते सेन्चुरी कमर्सियल बैंकको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने स्रोतले जनाएको छ ।
मर्जपछि बैंकको नाम प्रभु बैंक रहनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरी कमर्सियल बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ बढी रहेको छ । मर्जपछि बैंक प्रभु बैंकको चुक्ता पुँजी बोनस शेयर जारी पश्चात २३ अर्ब ५० करोड रुपैयाँ बढी हुनेछ ।
मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बबरमहलमा रहने छ । प्रभु–सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा गाभेको हो ।
दुई बैंकबीच गत साउन १५ गते एकआपसमा गाभ्नेगाभिने तथा मर्जरमा जाने सम्बन्धमा प्रारम्भिक सम्झौता भएको थियो । सम्झौतापत्र (एमओयू)मा प्रभु बैंकका अधयक्ष लिला प्रसाद सिटौला र सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
मर्जरपछि प्रभु बैंकले २३ अर्बको चुक्तापुँजी खडा गर्दै आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा सुविधा प्रदान गर्नेछ । मर्जपछि बैंकले २६ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नेछ ।
साथै एकीकृत कारोबारपछि प्रभु बैंकको कुल ३६५ शाखा कार्यालयहरु पुग्नेछ भने ७३ वटा एक्सटेन्सन काउन्टर पुग्नेछ । साथै बैंकको ३१० वटा एटीएम हुनेछ ।
मर्जरपछि प्रभु बैंकको कुल निक्षेप २ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ भने बैंकको कुल कर्जा लगानी २ अर्ब ३६ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकको लगानी ५० अर्ब ४१ करोड ९४ लाख रुपैयाँ पुग्नेछ । साथै सेन्चुरीलाई प्राप्ति गरेपछि प्रभु बैंकको कुल कर्मचारी संख्या करिब ४ हजार पुग्नेछ ।












