३६ बर्षअघि स्थापित नेपाल इन्डोस्वीज बैंक अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा बैंकिङ कारोबार गर्ने

काठमाडौं । ३६ बर्षअघि नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच निकै दयनीय थियो । सोही कारण विदेशी साझेदार फ्रान्सेली कम्पनीसँगको साझेदारीमा सन् १९८६ मा नेपाल इण्डोस्वीज बैंकको स्थापना गरिएको थियो । ३६ वर्षको इतिहास बोकेको सो बैंकको विदेशी साझेदारहरुको शेयर सन् २००१ मा नेपाली साझेदारहरु खरिद गरेपछि नेपाल इन्भेष्टमेन्ट बैंकको रुपमा वित्तीय कारोबार गर्दै आएको छ । अब सो वित्तीय संस्था नेपाल इन्मेष्टमेन्ट मेगा बैंकको रुपमा भोलि पुस २७ गतेबाट एकीकृत कारोबार गर्नेछ । नयाँ बन्ने बैंकको कूल चुक्ता पुँजि करिब ३५ अर्बको हुनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको भोलिदेखि एकीकृत कारोबार शुभारम्भ हुँदैछ । यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो ।
दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै, मेगा बैंक गाभिने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व नेपाल इन्भेष्टमेन्ट बैंकले व्यहोर्ने सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको थियो ।
मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको बीचमा १००ः९० को अनुपातमा मर्जरमा गएका हुन् । इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन । अब मेगा बैंकको १०० कित्ता सेयर हुने हरूको घटेर ९० कित्ता हुनेछ । यसरी इन्भेष्टमेन्टको १०० कित्ता बराबर मेगाको ९० कित्ता हुने अनुपातमा मर्जर भएको हो ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ । मर्जर पछि बन्ने बैंकको चुक्तापुँजी ३५ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ ।
मर्जरपश्चात् जगेडा कोषमा १९ अर्ब ७५ करोड रुपैयाँ संचिती हुनेछ । त्यस्तै, निक्षेप सङ्कलन तीन खर्ब ४६ अर्ब ८५ करोड र कर्जा प्रवाह तीन खर्ब १९ अर्ब ४४ करोड पुग्नेछ ।
मर्जरपश्चात् उपत्यकाभित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यकाबाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय दुई सय ९६ वटा शाखा, ६० वटा एक्सटेन्सन काउन्टर र एटिएम संख्या दुई सय ७७ वटा पुग्नेछन् । त्यस्तै बैंकले १०९ वटा शाखारहित सेवा प्रवाह कार्यालय समेत सञ्चालित छन् ।
पञ्चायत कालमा संस्थापना भएको नेपाल इन्भेष्टमेन्ट बैंकले नेपालको औद्योगिकरण तथा आर्थिक विकासमा ठूलो योगदान पुर्याउँदै आएको छ । आधुनिक बैंकिङ प्रणाली सुरु भएपछि स्थापना भएको सबैभन्दा कान्छो बैंक मेगा बैंक हो । सो बैंक अब परम्परागत बैंकसँग मर्ज भई नयाँ बैंक बन्नेछन् । हलोदेखि हाईड्रोसम्म भन्ने नाराका साथ स्थापना भएको मेगा बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकको नामसँग जोडिर बैंकिङ क्षेत्रमा उपस्थिति दर्शारहनेछ ।












