ब्याजदर घटाउने बिषयमा बैंकर्स संघभित्र मत बाझियो

२७ पुष २०७९, बुधबार १६:४८

काठमाडौं । नेपाल बैंकर्स संघको आज बस्ने बैठकले ब्याजदर स्थिर राख्ने कि घटाउने प्रस्तावमा छलफल गर्ने भएको छ। आज बैंकर्स संघको बिशेष साधारणसभा रहेको छ।आज साँझ ५ बजे बस्ने बैठकमा ब्याजदरको बिषयमा समेत छलफल हुने बैंकर्स संघका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार ब्याजदर घटाउने वा स्थिर राख्ने भन्ने बिषयमा आजको बैठकले निर्णय गर्नेछ ।

अहिले बैंकरहरूबीच ब्याजदरको बिषयमा दुई धार छ । एकथरी बैंकरहरू ब्याजदर केही घटाउनुपर्छ भन्ने लाइनमा छन् भने अर्काथरी बैंकरहरू आन्तरिक परिस्थिति पनि अनुकूल नभएकाले तत्काल ब्याजदर घटाउनु हुँदैन भन्ने पक्षमा छन्।

केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामा पनि ब्याजदरका उपकरण चलाउने सम्भावना छैन। तर, उसले अनौपचारिक रुपमा बैंकरहरुलाई ब्याजदर घटाएर सकारात्मक माहोल सिर्जना गर्न निर्देशन दिएको बताइन्छ । तर, राष्ट्र बैंकका अधिकारीहरु भने परिस्थिति हेर्दा ब्याजदर घटाइहाल्ने स्थिति नरहेको बताउँछन् ।

ब्याजदर घटाउनेबित्तिकै त्यसको असर अर्थतन्त्रमा कस्ता पर्छ भन्ने अहिल्यै भन्न नसकिने अवस्था भएकाले केही समय पर्ख र हेरको अवस्थामा रहनुपर्छ भन्ने प्रमुख कार्यकारी अधिकृतहरु पनि छन् ।तर, ब्याजदर केही न केही घटाउनुपर्ने दबाब गभर्नर महाप्रसाद अधिकारीमाथि छ ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलले ब्याजदरलाई केही कम गराएर लगानीकर्ताको मनोवल बढाउन भनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका थिए। निजी क्षेत्रले भने ब्याजदर तत्काल घटाउन नसके समस्या आउने बताउँदै आएका थियो।
निजी क्षेत्रले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा पुग्न लागेको भन्दै तत्काल सुधारका उपाय अवलम्बन गर्न सरकारसँग माग गर्दै आएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतले प्रधानमन्त्री, अर्थमन्त्रीसँग भेटवार्ता गरी ब्याजदरमा स्थिरता प्रदान गर्न, पुँजीगत खर्च बढाउन अनुरोध गर्दै आएका छन्।
अहिले वाणिज्य बैंकहरूको साधारण मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत पुगेको छ। बचतको न्यूनतम् ब्याजदर अन्तर साधारण मुद्दतीभन्दा बढीमा ५ प्रतिशत हुने व्यवस्था रहेको छ। अहिले साधारण बचतको ब्याज दर ७.१३३ प्रतिशत छ। बचत खाताबीचको अन्तर बढीमा दुई प्रतिशत बिन्दु हुने भएकोले अधिकतम ब्याज ९.१३३ प्रतिशत छ।

व्यवसायीहरूले एकल अंकमा ब्याजदर तोक्नुपर्ने बताउँदै आएका छन्। माघमा केही घटाएर परिस्थिति हेरेर फागुनमा अझै ब्याजदर घटाउने तयारी बैंकर्सहरूको रहेको एक बैंकरले बताए।
बैंकहरूले पछिल्लो त्रैमासमा आधार ब्याजदर (बेस रेट) भने झनै बढाएका थिए। असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरूको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको थियो। बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेको थियो। सोही दर अहिले पनि कार्यान्वयनमा छ।

माघ १ देखि वित्तीय संस्थाहरूले आधारदर घटाउने तयारी गरेका छन्। अप्रत्यक्ष नियामकीय सुझाव तथा निर्देशन पनि यस्तै रहेको बैंकरहरूले बताएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*