वााणिज्य बैंकहरुले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनको कति ?

१ माघ २०७९, आईतवार ११:०२

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । बैंकहरुले आज (माघ १ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

नेपाल बैंकर्स संघको पुष २७ गते बसेको कार्यसमितिको बैठकले माघ महिनाका लागि ब्याजदर घटाउने निर्णय गरेसँगै बैंकहरुले धमाधम ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् । माघ महिनाका लागि वाणिज्य बैक तथा विकास बैंकहरुले साधारण बचत खाता, मुद्दती निक्षेप र कर्जापट्टिको ब्याजदर घटाएका हुन् ।

आजदेखि वाणिज्य बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याजदर कायम भएको छ । यसअघिका महिनामा बैंकहरुले यस्तो खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

साथै बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर समेत घटाएको छ । बैंकहरुले मुद्दती निक्षेपमा ब्यक्तिगततर्फ अधिकतम ब्याजदर ११ प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघिको महिनामा भने बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.३३ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

साथै माघ महिनामा वाणिज्य बैंकहरुले रेमिट्यान्समा १२ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् । यसअघिका महिनाहरुमा रेमिट्यान्स मुद्दतीमा बैंकहरुले १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका थिए ।

केही महिनायता बैंकहरुले चर्को ब्याजदर निर्धारण गरेको भन्दै विभिन्न व्यापारी संघहरु आन्दोलनमा उत्रिएका थिए । बैंकहरुको ब्याजर घटाउनुपर्ने माग राख्दै उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा विभिन्न उद्योग व्यवसायी संघ र शेयर लगानीकर्ताहरु आन्दोलनरत थिए ।

विभिन्न खालका दबाब सिर्जना भएसँगै नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबाट समेत बैंकहरुको ब्याजदर घटाउन निर्देशन भएसँगै बैंकहरुले ब्याजदर घटाएका हुन् । संघका अनुसार माघ महिनामा ब्याजदर १.१३ प्रतिशतले घटाउने निर्णय भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*