लगानीको अवसरः कालिन्चोक दर्शनले भोलिदेखि १० लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्दै

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले भोलि (माघ ३ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
यो मध्ये १०% अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । जसमध्ये ५% अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।












