राष्ट्र बैंकले आयातमा नगद मार्जिन चाहिने व्यवस्था हटायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातका लागि प्रतीतपत्र (एलसी)मा नगद मार्जिन चाहिने व्यवस्था हटाएको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८मा संशोधन गर्दै एलजीमा नगद मार्जिन चाहिने व्यवस्था हटाएको हो। अब सोहीअनुसार गर्न गराउन पनि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंकहरुलाई निर्देशन दिएको छ।
बाह्य क्षेत्रमा परेको दबाबले वित्तीय प्रणालीमा समेत चाप परेपछि आयात नियन्त्रणमार्फत बाह्य क्षेत्रको स्थायित्वका लागि राष्ट्र बैंकले विभिन्न कदम चालिएको थियो ।
सुरुमा वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिनको व्यवस्था गरेको राष्ट्र बैंकले ब्याजदर वृद्धि र अनौपचारिक रुपमा आयात गर्न एसली नै नखोल्न निर्देशनसमेत दिएको थियो। गत महिना केन्द्रीय बैंकको निर्माण सामग्रीहरुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको थियो ।
राष्ट्र बैंकले लागु गरेको उक्त व्यवस्थाको पछिल्लो समय निजी क्षेत्रले विरोध गर्दै आएका थिए । विश्व व्यपार संगठनको सदस्य मुलुक नेपालले लिएको आयात कडाइको नीतिप्रति अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि चासो व्यक्त गरेको थियो । विदेशी मुद्राको सञ्चिति सुधारोन्मुख देखिए पछि आयातमा गरिएको कडाइ खेल्ने संकेत केन्द्रीय बैंकले यसअघि नै गरेको थियो ।













