नारायणी डेभलपमेन्ट बैंक १ करोड ६६ लाख रुपैयाँ नोक्सानमा, इपिएस समेत ऋणात्मक

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंक नोक्सानमा रहेको छ ।
बैंक पुष मसान्तसम्ममा एक करोड ६६ लाख २९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म बैंक ५९ लाख ९८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
साथै समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी बढेको छ भने संचालन मुनाफा ऋणात्मक रहेको छ । पुष मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४१२.३३ प्रतिशतले बढेर ३ करोड १३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ६६ लाख २९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा ऋणात्मक रहेकोले बैंकको खुद नाफा ऋणात्मक देखिएको हो ।
साथै यस अवधिसम्म बैंकको चुक्तापुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ७९ लाख रुपैयाँ संचित रहेको छ । समिक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी ५.२३ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५३ रुपैयाँ २३ पैसा रहेको छ ।












