यसकारण घट्यो महालक्ष्मी विकास बैंकको मुनाफा, इपीएस कति ?

८ माघ २०७९, आईतवार ०९:५९

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।

बैंकले यस अवधिसम्म आर्जन गरेको नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ३०.७४ प्रतिशत कम हो । गत वर्ष यही अवधिसम्म बैंकले ४५ करोड ६२ लाख नाफा कमाएको थियो । नाफामा सामान्य गिरावट आएपनि बैंकले वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ८६ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। दोस्रो त्रैमाससम्म बैंकले ४५ करोड ३९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

समीक्षा अवधिसम्म बैंकले ४७ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ९७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २ अर्ब २ करोड रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा २.८९ प्रतिशतबाट बढेर ४.५७ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढेसँगै बैंकको खुद नाफा प्रभावित बन्न पुगेको हो । पुस मशान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी घटेर १५ रुपैयाँ ७६ पैसा छ। बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९४ पैसा र पीई रेसियो २३.९९ गुणा रहेका छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*