आईएमई पे प्रति सर्वसाधारणको आकर्षण बढ्दै, ४० लाख एप डाउनलोड

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ‘आइएमई पे’ प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आम मानिसले डिजिटल वालेटको रुपमा प्रयोग गर्दै आइरहेको आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको कम्पनीले जनाएको छ ।
एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरीस्थित दुई हजार पाँच सय ५१ मिटरको उचाईमा केक काटेर खुशीयाली साटासाट गरिएको कम्पनीले जनाएको छ । आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको हो ।
ग्रुप सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूका वीच खुशी आदानप्रदान गरेको कम्पनीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा आईएमई पेको लोकप्रियता बढ्दै गएको बताउँदै आम जनताको विश्वासपूर्वक डिजिटल गोजीको रुपमा प्रयोग गर्दै आइरहेको आईएमई पे लाई अझै सरल, विश्वासिलो र सुरक्षित बनाउने प्रतिबद्धता जनाए ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने लाइसेन्स प्राप्त पहिलो कम्पनी हो ।
‘आइएमई पे’ मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।












