दुई कम्पनीद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । शिवम् सिमेन्ट् लिमिटेड र चिलिमे जलविद्युतले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।
शिवम् सिमेन्ट्सको गत पुष २९ गते सम्पन्न भएको सातौं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७८।७९ को लागि १०.५३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।
त्यस्तै, चिलिमे जलविद्युतले गत पुष २२ गते सम्पन्न भएको २६औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७८।७९ को लागि ७.५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।
यी दुवै कम्पनीको हकमा सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई तथा शेयर अभौतिकीकरण गराएपछि बैंक खातामा नै नगद लाभांश जम्मा हुने जनाएको छ ।












