कृषि विकास बैंकको सिइओ पदका २२ जनाको आवेदन

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २२ जनाले आवेदन दिएका छन् । स्रोतका अनुसार हालसम्म २२ जनाको आवेदन परेको हो ।
कृषि विकास बैंकका बरिष्ठ उपमहाप्रबन्धक र चिफ सर्भिस अफिसरसहित २२ जनाको आवेदन परेको स्रोतले जनाएको छ ।
बैंकले गत पुष २५ गते प्रमुख कार्यकारी पदको लागि दरखास्त पेश गर्न आह्वान गरेको थियो । यसैबीच बैंकका कामु सिइओ समेत रहेका बरिष्ठ उपमहाप्रबन्धक प्रताव सुवेदी र चिफ सर्भिस अफिसर यज्ञ प्रकाश न्यौपानेले समेत सिइओ पदका लागि दरखास्त पेश गरेका छन् ।
पुर्व सिइओ अनिल उपाध्यायको गत पुष १० गते आफ्नो कार्यकाल समाप्त भएपछि बैंकको सिइओ पद रिक्त रहेको छ । बैंकले उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला थियो ।
बैंकले योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा सीईओका लागि छनोट गर्नेछ । सोपश्चात उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरुमध्ये ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ । साथै प्राप्तांकको आधारमा बैंकले ३ जनालाई सिइओका लागि सिफारिस गर्नेछ ।












