हकप्रद निष्काशनको तयारीमा रहेको नेशनल हाइड्रोपावरको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो ।
गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले ८५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानमा खासै सुधार नभएका कारण खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.६८ प्रतिशत मात्र बढेको छ । तर डाइरेक्ट एक्सपेन्सेस घटेका कारण कुल नाफा भने १८.३३ प्रतिशत बढेको छ । यद्यपि, वित्तीय खर्च र ह्रासकट्टी खर्च बढेका कारण कम्पनीको नाफा घट्न दबाब पुगेको हो ।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८ पैसा रहेको छ । त्यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात २८२.०२ गुणा रहेको छ ।
नेशनल हाइड्रोपावरले सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ति गरी गत असोज १४ गतेबाट एकिकृत कारोबार शुरु गरिसकेको छ । सुनकोशीलाई प्राप्तिपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ भने नेपाल धितोपत्र बोर्डमा स्वीकृती प्रक्रिया अगाडि बढाइएको छ ।












