कामना विकास बैंकका सिईओद्धारा प्रहरी समक्ष आत्मसमर्पण

काठमाडौं । कीर्ते ऋण काण्डमा पक्राउ पुर्जी जारी भएका कामना विकास बैंकका सिईओ प्रविण बस्नेतले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
झापामा कर्जा अपचलन गरेको प्रकरणमा जोडिएर प्रहरीले छानविन गर्न सिईओ बस्नेतसहित ११ जनाका विरुद्धमा पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीको अनुसन्धानलाई सघाउन भन्दै आज बस्नेत आफै प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
३१ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको खवर पाएपछि काठमाडौंमा रहेको सिईओ आफै झापा पुगेका हुन् ।
दमक प्रहरी कार्यालयका एक अधिकारीले भने ‘हामीले उहाँलाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौं । म्याद थपका लागि आज अदालतमा पेश गरेका छौं ।’ आत्मसमर्पण गरेका बस्नेतसँग प्रहीले उनको बयान लिईसकेको छ । ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको थियो ।












