घर बहाल र बैंकको ब्याजदर घटाउन माग गर्दै बुटवलका व्यवसायी आन्दोलित

बुटवल । चर्को बैंक ब्याजको मारमा परेका व्यवसायीहरुले घरधनीहरुबाट समेत प्रताडित भएको भन्दै बुटवलका व्यवसायीहरु आन्दोलित भएका छन् । रुपन्देही व्यापार संघमा आबद्ध व्यवसायीहरुले हिजो बुटवलमा घर बहाल घटाउन र बैंकको ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
ब्याजदर घटाउनुपर्ने, घर बहाल पनि घटाउनुपर्ने भन्दै नाराजुलुस सहित शहर परिक्रमा गरेका थिए । रुपन्देही व्यापार संघका आबद्ध करिब ५०० जनाको सहभागिता रहेको र्यालीले संघको कार्यालयबाट व्यानर, प्लेकार्ड लिएर जेसिस चोक, अमरपथ, ट्राफिकचोक, राममन्दीर लाइन, हाटवजार परिक्रममा गरि समापन कोणसभा आयोजना गरेर समापन भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै रुपन्देहीव्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले गिर्दो व्यवसायलाई बचाउन आफू पनि चल्ने र अरुलाई चल्ने बातावरण सिर्जना गर्न घरधनी र बैंकलाई अनरोध गरेका थिए । अप्ठेरो अवस्थाका बीचमा पनि व्यावसाय संचालन गरेका व्यावसायीहरुलाई राहतका रुपमा घरवहालमा सक्दो छुट दिनुपर्ने माग अघि सारेका छन् ।
चर्को बैंकको व्याजदर र घरभाडा तिर्न सक्ने अवस्था अबका दिनमा आउने चेतावनी दिदै बाध्य भएर सडकमा आउनु परेको अध्यक्ष घिमिरेले बताए । बैंकको ब्याजदर र घरभाडा नघटाए कडा संघर्षमा उत्रन बाध्य हुने उनले चेतावनी दिए ।












