साना किसान लघुवित्तको नाफा ३४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो सुधार

१८ माघ २०७९, बुधबार ११:२६

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार संस्थाको नाफा उल्लेख्य बढ्न पुगेको हो ।

संस्थाले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ३४.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसैअवधिमा संस्थाले ३२ करोड ३८ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा पनि बढेको हो ।

समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३७.४४% ले बढेर ८४ करोड ९८ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ३४.३९% ले बढेर ६२ करोड ३ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमाससम्ममा लघुवित्तको चुक्तापुँजी एक अर्ब ५६ करोड ४४ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार १.६१ प्रतिशतले घटेर कोषमा १ अर्ब ४३ करोड ४० लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, पुस मसान्तसम्म आइपुग्दा संस्थाको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०७ पैसाले बढेर ५५ रुपैयाँ ६१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ४९ पैसा छ ।

साथै लघुवित्तले यस अवधिसम्म एक अर्ब ४४ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ३६.२३ प्रतिशतले बढेर ४ करोड ३३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त मर्जरको अन्तिम तयारीमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*