लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
लघु्वित्तले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । यो नाफा गत आवको तुलनामा ३७.२५% ले कम हो । गत वर्ष यही अवधिमा कम्पनीले ४२ करोड १९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी घटेर खराब कर्जा बढेसँगै लघुवित्तको मुनाफा प्रभावित बन्न पुगेको हो । पुष मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४.८७% ले घटेर ७९ करोड ४५ लाख १० हजार रुपैयाँमा आएको छ । यस्तै, खराब कर्जा बढेका कारण इम्पेयरमेन्ट चार्जमा पनि उल्लेख्य वृद्धि भएपछि जीवन विकासको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ ।
इम्पेयरमेन्ट चार्ज बढेका कारण सञ्चालन नाफा पनि ३७.२५% ले घटेर ३७ करोड ८२ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा ०.७५% बाट बढेर २.८३% पुगेको छ ।
पुष मसान्तसम्ममा जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ छ । जगेडा कोषमा ८५ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ । खुद नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ८१ पैसाले घटेर ५१ रुपैयाँ २० पैसामा सीमित भएको छ । जीवन विकासको प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ६९ पैसा छ ।
दोस्रो त्रैमाससम्ममा जीवन विकास लघुवित्तको निक्षेप संकलन ४.७१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ०.५५ प्रतिशतले घट्न पुगेको छ ।












