मिर्मिरे लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो, इपीएस कति ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साढे ५ करोडमाथिको नाफा आर्जन गरेको देखिएको हो ।
तर गत वर्षको तुलनामा नाफा ५८.८२% ले थोरै हो । गत वर्ष यसले १३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानीसँगै संचालन नाफा घट्न पुगेकोले लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो ।
दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी भने २२.७४% र सञ्चालन नाफा ५८.८२% ले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ५५ रुपैयाँ ९१ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा ३८ रुपैयाँ ५० पैसाले घटेर १७ रुपैयाँ ४१ पैसामा झरेको छ ।
समिक्षा अवधिसम्म मिर्मिरेको चुक्ता पुँजी ६५ करोड ३३ लाख रुपैयाँ रहेको यस मिर्मिरेको जगेडा कोषमा ३२ करोड ४२ लाख रुपैयाँ संचित रहेको छ । संस्थाको खराब कर्जा भने १.५५% बाट बढेर ३.८४% भएको छ ।
पुष मसान्तसम्म संस्थाको निक्षेप संकलन ८.१७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह १.१८ प्रतिशतले घटेर ८ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ ।












