एक दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)

२२ माघ २०७९, आईतवार १७:५१

काठमाडौं । हालसम्म एक दर्जन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । ६० भन्दा बढी लघुवित्तहरु मध्ये हालसम्म जम्मा १२ संस्थाले मात्रै दोस्रौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

प्रकाशित विवरणअनुसार अधिकांश लघुवित्तको मुनाफा गत आवको तुलनामा घट्न पुगेको छ । संस्थाहरुको रिर्पोटअनुसार खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा बढेका कारण नाफा प्रभावित बन्न पुगेको देखिएको छ । योसँगै केही लघुवित्तहरुको इम्पेयरमेन्ट चार्ज समेत बढेका कारण संचालन मुनाफा बढ्दा नाफा घट्न पुगेको वित्तीय विवरणले देखाएको छ । १२ लघुवित्तले औषतमा एक अर्ब ४० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

हालसम्म रिर्पोट सार्वजनिक गर्ने लघुवित्तहरु आरएसडीसी, फर्स्ट माइक्रोफाइनान्स, साना किसान विकास, आरएमडीसी, जीवन विकास, मिथिला, आशा, मिर्मिरे, एनआइसी एशिया, सिभिल, ग्रामिण विकास र खप्तड लघुवित्त रहेका छन् । सो मध्ये ग्रामिण विकास लघुवित्त नोक्सानीमा रहेको छ ।

साथै चारवटा लघुवित्तले मात्रै गत आवको तुलनामा यो अवधिसम्ममा नाफा बढाउन सफल भएको छ भने बाँकी सातवटा लघुवित्तको मुनाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने संस्थामा साना किसान विकास लघुवित्त रहेको छ । संस्थाले सो अवधिसम्म ४३ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै लाभांश घोषणाको तयारीमा रहेको जीवन विकास लघुवित्तले पनि सो अवधिसम्म २६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, आरएमडीसी लघुवित्तले २० करोड ६५ लाख रुपैयाँ, एनआइसी एशिया लघुवित्तले १४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफा बृद्धिदरमा को अघि ?
वित्तीय विवरण सार्वनिक गरेका १२ लघुवित्त संस्थामध्ये सबैभन्दा बढी नाफा बढाउने संस्थामा आरएसडीसी लघुवित्त रहेको छ । संस्थाको गत आवको तुलनामा यस अवधिमा मुनाफा ६२.३४ प्रतिशतले बढेको छ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सले पनि गत आवको तुलनामा ३८.३५ प्रतिशत बढीले नाफा बृद्धि गर्न सफल भएको छ । साथै साना किसान विकास लघुवित्तको ३४.३३ प्रतिशत, आरएमडीसी लघुवित्तको २२.५८ प्रतिशतले नाफा बढेको छ ।

मुनाफा घट्ने सात लघुवित्त
अधिकांश लघुवित्तको नाफा गत आवको यसै अवधिसम्मको तुलनामा घट्न पुगेको छ । जसमा सबैभन्दा बढी नाफा घट्ने संस्थामा खप्तड लघुवित्त रहेको छ । गत आवको पुष मसान्तसम्म २१ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको संस्थाले यस अवधिसम्म जम्मा ४ लाख ७२ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।

त्यस्तै, सिभिल लघुवित्तको ६४.३५ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ६१.८५ प्रतिशत, मिर्मिरे लघुवित्तको ५८.८२ प्रतिशत, आशा लघुवित्तको ५८.०४ प्रतिशत, मिथिला लघुवित्तको ३७.२५ प्रतिशत र जीवन विकास लघुवित्तको ३७.२५ प्रतिशतले नाफा घटेको छ ।

साथै ग्रामिण विकास लघुवित्त भने सो अवधिसम्ममा १२ करोड ५९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत आवको यसै अवधिसम्म लघुवित्तले १९ करोड २६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*