मेरो माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ७७ प्रतिशतले घट्यो, इपीएस कति ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा घट्न पुगेको हो ।
यो नाफा गत आवको तुलनामा ७६.९६ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्ममा संस्थाले २९ करोड ४२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यस कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले पनि नाफा प्रभावित भएको हो । साथै, खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । यसले पनि नाफा प्रभावित भएको हो ।
गत वर्ष ३५ लाख ६१ हजार रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४ करोड ५४ लाख २८ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.४१% ले बढेर ४.९६% पुगेको छ । खुद ब्याज आम्दानी ३५.२७% ले घटेर ३९ करोड १७ लाख ४८ हजार रुपैयाँमा आएको छ ।
सञ्चालन नाफा पनि ७७.४४% ले घटेर ९ करोड ४८ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । वितरणयोग्य नाफा ४ करोड ६६ लाख ४४ हजार रुपैयाँ छ ।
समिक्षा अवधिसम्ममा संस्थाको चुक्तापुँजी एक अर्ब २० करोड रुपैयाँ रहोकोमा जगेडा कोषको आकार समेत २४.६१ प्रतिशतले घटेर कोषमा जम्मा ४८ करोड ९३ लाख रुपैयाँ मात्रै संचित रहेको छ । नाफासँगै प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७४ पैसाले घटेर १३ रुपैयाँ ३० पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा छ । यस अवधिसम्ममा संस्थाको निक्षेप भने २१.५९ प्रतिशतले बढेको छ भने कर्जा लगानी ७.६२ प्रतिशतले घट्न पुगेको छ ।












