क्यान मेलाको नौला प्रविधिप्रति आकर्षण, एकैदिन करिब १ लाखद्धारा अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक– २०२३ को आज तेस्रो दिनमा १ लाख बढी अवलोकनकर्ताहरुले अवलोकन गरेका छन्। यस वर्षको इन्फोटेकमा नयाँ उत्पादन र अफरसहितका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।गत मंगलबारदेखि सुरु भएको उक्त सूचना सञ्चार प्रविधिको ठूलो प्रदर्शनीलाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन् ।
तेस्रो दिनमा आज नेपाली काग्रेसका विश्वप्रकाश शर्माले क्यान इन्फोटेकको मेला अवलोकन गर्दै आईटी सेक्टरमा भएको इस्यूहरुलाई आइटी एजेण्डाका रुपमा अगाडि बढाउन सहयोग गर्ने बताए । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको छ ।
क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रवद्र्धन गरेको छ । तीन दशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ । साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रडक्टको पनि प्रदर्शनी गरिरहेको छ ।
त्यस्तै इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेटले ‘चल्छ हैन दौडिन्छ, घरको कुना कुनामा’ नारा सहित आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीका विभिन्न प्याकेजको विशेष प्रवद्र्धन गरेको छ । यसअन्तर्गत कम्पनीले ५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज ल्याएको छ ।
मेलाको डायमन्ड स्पोन्सर रहेको नेपाल टेलिकमले अवलोकनकर्तालाई निःशुल्क सिम वितरण गरिरहेको छ । साथै टेलिकमले स्टलबाटै ईसिम अपग्रेडको सेवा पनि दिइरहेको छ भने हालै ल्याइएको एनिभर्सरी अफरबारे ग्राहकलाई जानकारी दिइरहेको छ ।
त्यस्तै गोल्ड स्पोन्सर माया एनिमेसन एकेडेमीले इन्फोटेक अवलोकन गर्नेहरूका लागि एनिमेसन, भीएफएक्स, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स डिजाइनिङ, अटो क्याड लगायतका कोर्षमा ५० प्रतिशतसम्मको छुट घोषणा गरेको छ ।
मेलाको टिकेटिङ पार्टनर पेवेलले आफ्नो एपमार्फत क्यान इन्फोटेकको टिकट रु। २५ मै उपलब्ध गराइरहेको छ । साथै पेवेलले आफ्नो क्यूआर भुक्तानी सेवासमेत क्यान इन्फोटेककै अवसर सार्वजनिक गरेको छ ।
मोबाइल सेवाप्रदायक एनसेलले निःशुल्क सिम वितरणको योजना सञ्चालन गरिरहेको छ ।भुक्तानी सेवा प्रदायक आइएमई पेले अवलोकनकर्तालाई लागि निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ।
त्यस्तै स्टलबाटै आइएमई पेले ग्राहकको केवाइसी भेरिफाइड समेत गरिरहेको बताइएको छ।अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका जनाइएको छ।
यसअन्तर्गत यु सफ्ट कम्प्युटर टेक्नोसिसले ल्यापटप, गेमिङ पिसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएको छ।विभिन्न ब्राण्डका केही कम्पनीहरूले ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका आयोजकले बताएको छ। छुट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।
’साना एक्सेसरिज जस्तै माउस, किवोर्ड, ब्लुतुथ स्पिकर, क्यामेरा स्ट्यान्ड लगायतका स्टलहरुमा बढी भीड लाग्ने गरेको छ,’ उनले भने, ’असक्षम, अपाङ्ग लगायतले बनाएका विभिन्न आविष्कारहरू समेत प्रदर्शनीमा राखिएको छ।’
मेलामा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिए। उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरूलाई निःशुल्क स्टलहरू समेत उपलब्ध गराइएको छ।
साथै, अन्य स्टार्टअप स्टलमा पनि विद्यार्थी तथा कम्पनीले तयार पारेका उत्पादन प्रदर्शनीमा राखिएको छ। त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले तयार पारेको सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ।
१५० भन्दा बढी स्टलसहित सञ्चालन भइरहेको यो मेला आइतबारसम्म चल्ने छ ।












