स्वाभिमान लघुवित्तको मुनाफा ८६% ले घट्यो, जगेडा कोषको आकार ११० प्रतिशतले बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २९ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत आवको तुलनमा ८६.५७ प्रतिशतले कम हो ।
गत आवको यसै अवधिसम्म कम्पनीले २ करोड १९ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घटेकाले नाफा घट्न पुगेको हो ।
समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४१.३५ प्रतिशत घटेर ३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । साथै संचालन मुनाफा ७९.४७ प्रतिशत घटेर ४६ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । साथै गत आवको पुष मसान्तसम्म ०.६६ प्रतिशतमा कायम रहेको संस्थाको निष्क्रिय कर्जा यस अवधिसम्म बढेर २.०४ प्रतिशतमा कायम भएको छ । यसकारण पनि नाफा प्रभावित बन्न पुगेको हो ।
साथै यस अवधिसम्म कम्पनीको चुक्तापुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको भने जगेडा कोषको आकार ११० प्रतिशतले बढेर कोषमा ११ करोड २७ लाख रुपैयाँ संचित रहेको छ । यता संस्थाको प्रतिशेयर आम्दानी ४.८३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९०.१५ रुपैयाँ रहेको छ ।












