ब्याज आम्दानी घट्दा साधना लघुवित्तको मुनाफा प्रभावित, इपीएस कति ?

२७ माघ २०७९, शुक्रबार १६:५९

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ६६.२४ प्रतिशतले घट्न पुगेको हो ।
गत आवको यसै अवधिसम्ममा संस्थाले ७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै घटेका कारण नाफा प्रभावित बन्न पुगेको हो ।

समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी १२.०६ प्रतिशत घटेर १३ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ६६.२४ प्रतिशत घटेर ३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिसम्ममा संस्थाले १४ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमााएको थियो भने संस्थाको सो अवधिसम्म १० करोड ८२ लाख रुपैयाँ संचालन मुनाफा रहेको थियो ।

यस अवधिसम्म संस्थाको निष्क्रिय कर्जा १.२८ प्रतिशतबाट बढेर ३.९७ प्रतिशतमा कायम भएको छ । यसकारण पनि लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो । पुष मसान्तसम्ममा संस्थाको चुक्तापुँजी ३२ करोड १२ लाख रुपैयाँ रहेकोमा संस्थाको जगेडा कोषको आकार ७.१६ प्रतिशत बढेर कोषमा ७ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ ।

संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी १५.९३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५१.८८ रुपैयाँ रहेको छ । साथै संस्थाले सो अवधिसम्ममा बैंकबाट ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ३० करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै संस्थाले एक अर्ब ४० करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*