बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७६ प्रतिशत लाभांश प्रस्ताव गरेको जाल्पा सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड२८ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको तुलनामा ७७.८७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्ममा संस्थाले ५ करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाको संचालन नाफा ऋणात्मक अवस्थामा रहेको कारण नाफा प्रभावित बन्न पुगेको हो ।
यस अवधिसम्म संस्थाको संचालन मुनाफा सूचक एक लाख ६७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । साथै संस्थाको खराब कर्जा समेत ३.७० प्रतिशतबाट बढेर ४.७२ प्रतिशतमा पुगेको छ । यसकारण पनि संस्थाको मुनाफा प्रभावित बन्न पुगेको हो ।
तर यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी भने २.९७ प्रतिशत बढेर १८ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिसम्म संस्थाको यस्तो आम्दानी १७ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
पुष मसान्तसम्म संस्थाको चुक्तापुँजी ४८ प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार समेत बढेर ३९ करोड ४८ लाख रुपैयाँ संचित रहेको छ । संस्थाको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४६ रुपैयाँ ८० पैसा रहेको छ ।












