अपि पावर कम्पनीको खुद नाफा र इपीएस दुवै घट्यो

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा विद्युत बिक्री मार्फत ३१ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २७ करोड ४२ लाख रुपैयाँ मात्र कमाएको छ । विद्युत बिक्री आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५६.५२ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड २३ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.८९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९६.४३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च २१.०८ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ १६ पैसा घटेर ३ रुपैयाँ २५ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १०९ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४.१२ गुणा रहेको छ । ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ रहेको छ।












