शेयरबजारमा उच्च शेयरमूल्य रहेका पाँच लघुवित्तलाई दाँजेर हेर्दा, नाफा इपीएस र शेयरमूल्यमा कुन अघि ?

१ फाल्गुन २०७९, सोमबार १६:५९

काठमाडौं । शेयरबजारमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्य उच्च हुने गर्दछ । वित्तीय संस्थाहरुको प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ बढी हुने भएका कारण शेयरमूल्य बढ्न जान्छ ।

साथै अन्य कम्पनीको दाँजोमा लघुवित्त संस्थाहरुको चुक्तापुँजी कम र नेप्सेमा सूचीकृत शेयरको संख्या समेत कम हुने भएको कारण लघुवित्तहरुको शेयरमूल्य प्राय बढी नै हुने गर्दछ । यस्तैमा सबैभन्दा बढी शेयरमूल्य हुने केही संस्थाहरुको वित्तीय अवस्थाको बारेमा आज बीमा पोष्टले तथ्याङ्क तयार पारेको छ ।

शेयरबजारमा धमाकेदार शेयरमूल्य भएका कारण लगानीकर्ताहरुको रोजाइमा यी लुघवित्तहरुको वित्तीय अवस्थाको बारेमा बुझ्ने चासो बढ्न पनि स्वभाविक नै हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा बीमापोष्टले शेयरबजारमा शेयरमूल्य बढी भएका पाँचवटा लघुवित्तको वित्तीय अवस्थाको बारेमा तुलनात्मक अध्ययन तयार पारेको छ ।

जीवन विकास लघुवित्त, महिला लुघवित्त, जाल्पा सामुदायिक लघुवित्त, उपकार लुघवित्त र नेष्डो समृद्ध लघुवित्तको वित्तीय विवरणका अनुसार यी संस्थाहरुले दोस्रो त्रैमाससम्म कति नाफा आर्जन गरे, इपीएस कति छ साथै खुद ब्याज आम्दानी कति गरे भन्ने जस्ता सूचाङ्कहरु तयार पारेको छ ।

खुद नाफा र ब्याज आम्दानीका आधारमा
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने संस्थामा जीवन विकास लघुवित्त रहेको छ । लुघवित्तले सो सो अवधिसम्म २६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तैमा नेष्डो समृद्ध लघु्वित्तले पनि ११ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, महिला लघुवित्तले ४ करोड ५५ लाख र जाल्पा सामुदायिकले एक करोड २८ लाख नाफा आर्जन गरेको छ । पाँच लघुवित्त मध्ये उपकार लुघवित्त भने यस अवधिसम्म एक करोड ६१ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।
लघुवित्त संस्थाहरुको नाफा खुद ब्याज आम्दनीको आधारमा निर्धारण हुने गर्दछ । यसआधारमा पनि सबैभन्दा बढी मुनाफा जीवन विकासले आर्जन गर्न पुगेको हो । जीवन विकासले खुद ब्याज आम्दानी मात्रै ७९ करोड ४५ लाख रुपैयाँमाथि गरेको छ । साथै नेष्डोले १९ करोड ८८ लाख, जाल्पा सामुदायिकले १८ करोड २५ लाख, महिलाले १४ करोड ३७ लाख गरेको छ भने उपकारको यस्तो आमदनी ६ करोड २९ लाख मात्रै रहेको छ ।

चुक्तापुँजीको आधारमा
कम्पनीहरुको चुक्तापुँजी कम्पनी कुन वर्षदेखि संचालमा आएको त्यस कुरामा समेत निर्धारण हुने गर्दछ । पुराना कम्पनीहरुको चुक्तापुँजी बढ्दै जानु स्वभाविक हो । वर्षेनी कम्पनीहरुले कमाएको मुनाफाबाट शेयरधनीहरुलाई बोनस बाँड्दै जाँदा कम्पनीको चुक्तापुँजी थपिन जान्छ ।
चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी चुक्तापुँजी जीवन विकास लघुवित्तको नै रहेको छ । लघुवित्तको यस अवधिसम्म एक अर्ब ३ करोड ४२ लाख चुक्तापुँजी रहेको छ । त्यस्तै, दोस्रोमा नेष्डो समृद्ध लघुवित्तको २५ करोड ५० लाख, जाल्पा सामुदायिकको १६ करोड, महिलाको १४ करोड ७५ लाख र उपकारको जम्मा ६ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थको आधारमा
कम्पनीहरुले प्रत्येक तीन–तीन महिनामा वित्तीय विवरण सार्वजनि गर्दा प्रतिशेयर आम्दानी र नेवटर्थ समेत सूचक छटु्याएको हुन्छ । तर यी दुवै सूचक वार्षिकीकरणमा आधारित रहन्छ । प्रतिशेयर आम्दानी र नेटवर्थ वार्षिक रुपमा घटबढ भएमात्रै शेयरमुल्यमा प्रभाव पर्न जान्छ ।

यस्तैमा दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दनानी (इपीएस) सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको रहेको छ । लघुवित्तको दोस्रो त्रैमाससम्म इपीएस नै ८६.४५ रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा महिला लघुवित्तको ६१.७९ रुपैयाँ, जीवन विकासको ५१.२ रुपैयाँ, जाल्पा सामुदायिकको १६.०५ रुपैयाँ रहेको छ भने उपकारको इपीएस ४९.०७ पैसा ऋणात्मक रहेको छ ।

यस्तै, प्रतिशेयर नेटवर्थमा पनि नेष्डो समृद्ध लघुवित्तको नै बढी रहेको छ । लघुवित्तको नेटवर्थ ३५२ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, दोस्रोमा जाल्पा सामुदायिकको ३४६ रुपैयाँ ८ पैसा रहेको छ । साथै महिलाको २९७ रुपैयाँ ७८ पैसा, जीवन विकासको २९५ रुपैयाँ ९४ पैसा र उपकारको २३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

शेयरमूल्यको आधारमा
यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी शेयरमूल्य महिला लघुवित्तको रहेको छ । लघुवित्तको शेयरमूल्य ४११५ रुपैयाँ रहेको छ । साथै, उपकार लघुवित्तको पनि ३७३५ रुपैयाँ शेयरमूल्य रहेको छ ।
त्यस्तै, नेष्डो समृद्धको ३३५१ रुपैयाँ, जाल्पा सामुदायिकको ३३ सय रुपैयाँ र सबैभन्दा बढी मुनाफा आर्जन गरेको जीवन विकासको भने २७४४ रुपैयाँ रहेको छ ।

कर्जा लगानीका आधारमा
दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा पाँच लघुवित्त संस्थामध्ये सबैभन्दा बढी कर्जा लगानी तथा प्रवाह गर्ने संस्थामा जीवन विकास लघुवित्त रहेको छ । यसकारण पनि लघुवित्तको खुद ब्याज आम्दानी बढी हुन पुगेको हो । यस अवधिसम्म जीवन विकास लघुवित्तले २३ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, दोस्रोमा जाल्पा सामुदायिक लघुवित्तले ४ अर्ब ९९ करोड, नेष्डो समृद्ध लघुवित्तले ४ अर्ब ५६ करोड, महिला लघुवित्तले ४ अर्ब ४९ करोड र उपकार लुघवित्तले २ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । तर कर्जा लगानीका आधारमा मात्रै ब्याज आम्दानी निर्धारण हुँदैन । लघुवित्तहरुको खराब कर्जा अर्थात् निष्क्रिय कर्जा बढ्न पुग्दा खुद ब्याज आम्दानी घट्न जान्छ ।

शेयरबजारमा उच्च शेयरमूल्य रहेका यी पाँचवटा लघुवित्तहरु मध्ये हालसम्म गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई तीनवटा संस्थाले मात्रै लाभांश प्रस्ताव गरेका छन् जसमा सबैले बम्पर लाभांश प्रस्ताव गरेका छन् । सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तले ७६.८४ प्रतिशत लाभंश प्रस्ताव गरेको छ । यसका साथै उपकार लघुवित्तले ६५ प्रतिशत र महिला लघुवित्तले ५० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

नेष्डो समृद्ध लघुवित्त र जीवन विकास लघुवित्तले भने हालसम्म लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणाको तयारीमा रहेको यी दुई लघुवित्तले गत आवको अन्त्यसम्ममा राम्रै मुनाफा आर्जन गरेका थिए । सो आधारमा यी दुई लघुुवित्तले पनि शेयरधनीलाई सन्तोषजनक मुनाफा बाँड्ने सम्भावना देखिन्छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*