अर्बभन्दा बढी चुक्तापुँजी रहेका ९ लघुवित्तलाई दाँजेर हेर्दा, कुन सूचकमा कुन बलियो ?

२ फाल्गुन २०७९, मंगलवार १८:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको संख्या ६० भन्दा माथि रहेको छ । अधिकांश लघुवित्त संस्थाहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् ।

संख्याको आधारमा यस्ता कम्पनीहरु धेरै भएपनि लघुवित्त संस्थाहरुको पुँजी कम हुने गर्दछ । विशेष गरी ग्रामिण भेगका स्थानीय महिलाहरुलाई वित्तीय सेवा प्रदान गर्न अर्थात् कर्जा प्रवाह गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत पुर्याउने हेतुले लघुवित्त संस्थाहरु स्थापना भएका हुन् । कर्जा परिचालन गरी खुद ब्याज आम्दानी गरी सो बाट मुनाफा आर्जन गर्नु नै संस्थाहरुको मुख्य आम्दानीको स्रोत हो ।

नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा लघुवित्त संस्थाहरुको चुक्तापुँजी कम हुने गर्दछ । संचालनमा रहेका ६३ लघुवित्त संस्थामध्ये हालसम्म ९ वटा संस्थाको चुक्तापुँजी मात्रै अर्बभन्दा माथि रहेको छ । जसमा छिमेक लघुवित्त, निर्धन उत्थान, साना किसान विकास, डिप्रोक्स, आरएमडीसी, मेरो माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, स्वाबलम्बन र जीवन विकास लघुवित्त रहेका छन् । सो मध्ये पनि छिमेक र निर्धन उत्थानको चुक्तापुँजी विकास बैंकहरु बराबरकै २ अर्ब माथि रहेको छ ।

अर्बभन्दा बढी चुक्तापुँजी रहेका यी ९ वटा लघुवित्त संस्थाहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा बीमापोष्टले कुन संस्था कुन सूचाङ्कमा बलियो भन्ने तथ्याङ्क तयार पारेको छ ।

स्रोत : लघुवित्तहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा

चुक्तापुँजीको आधारमा कुल संस्था बलियो ?
चुक्तापुँजीको आधारमा सबैभन्दा छिमेक लघुवित्त रहेको छ । संस्थाले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा छिमेकको चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा निर्धन उत्थान लघुवित्तको २ अर्ब १९ करोड रहेको छ ।

अन्य सात संस्थाको चुक्तापुँजी भने एक अर्ब बढीको हाराहारीमा रहेको छ । लघुवित्तहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको बोनस शेयर वितरणपछि संस्थाहरुको चुक्तापुँजी प्रतिशतका आधारमा बढ्न जान्छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कुनले कति नाफा कमाए ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सबैभन्दा बढी मुनाफा कमाउने संस्थामा छिमेक लघुवित्त नै रहेको छ । लघुवित्तको अधिकांश सूचक बलियो भएका कारण पनि नाफा बढी हुन पुगेको हो । यस अवधिसम्म छिमेकले ५५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, साना किसान विकासले ४३ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । जीवन विकासले पनि सो अवधिसम्म २६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, स्वाबलम्बनले २४ करोड १ लाख, डिप्रोक्सले २१ करोड ५३ लाख, आरएमडीसीले २० करोड ६५ लाख, निर्धनले १६ करोड ८५ लाख, फर्स्ट माइक्रोफाइनान्सले १४ करोड ४४ लाख र मेरो माइक्रोफाइनान्सले ६ करोड ७७ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । संस्थाहरुले सो अवधिसम्म कमाएको नाफा खुद ब्याज आम्दानीमा निर्भर रहन्छ ।

सो अवधिसम्म सबैभन्दा बढी खुद ब्याज आम्दानी गर्ने संस्थामा पनि छिमेक लघुवित्त नै रहेको छ । लघुवित्तले मात्रै सो अवधिसम्म एक अर्ब ४३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यसबाहेक अन्य सबै कम्पनीले करोडमाथि खुद ब्याज आम्दानी गरेका छन् ।

प्रतिशेयर आम्दानीमा कुन अघि ?
लघुवित्तहरुले प्रत्येक तीन–तीन महिनामा सार्वजनिक गरेको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी (इपीएस) सूचक समेत छुट्याएका हुन्छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुको इपीएस वार्षिकीकरणमा निर्धारण हुन्छ ।
इपीएसका आधारमा कम्पनीको शेयरमूल्य घटबढ हुने गर्दछ । सो अवधिसम्म सबैभन्दा बढी इपीएस रहेको संस्थामा साना किसान विकास लघुवित्त रहेको छ । यस अवधिसम्म साना किसानको इपीएस ५५.६१ रुपैयाँ रहेको छ ।
त्यस्तै, जीवन विकासको ५१.२० रुपैयाँ, छिमेकको ४७.८५ रुपैयाँ, स्वाबलम्बनको ४२.८१ रुपैयाँ, आरएमडीसीको ३३.२० रुपैयाँ, डिप्रोक्सको ३१.०५ रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको २५.१८ रुपैयाँ, निर्धनको १५.३६ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ११.३० रुपैयाँ रहेको छ ।

कर्जा लगानीको आधारमा
लघुवित्त वित्तीय संस्थाहरुको मुख्य आम्दानीको श्रोत भनेको नै खुद ब्याज आम्दानी हो । संस्थाहरुले बैंक तथा वित्तीय संस्थाबाट नै सापटी तथा ऋण लिई कर्जा परिचालन गर्ने गर्दछन् । सोहीबाट आएको ब्याज आम्दानी नै संस्थाको नाफामा निर्धारण हुने गर्दछ । यस अवधिसम्म सबैभन्दा बढी कर्जा परिचालन गर्ने संस्थामा साना किसान विकास लघुवित्त रहेको छ । संस्थाले सो अवधिसम्म ४३ अर्ब ३१ करोड रुपैयाँमाथि कर्जा परिचालन गरेको छ ।

त्यस्तै, छिमेकले पनि सो अवधिसम्म ३३ अर्ब ५३ करोड, निर्धनले २६ अर्ब ६ करोड, जीवन विकासले २३ अर्ब २४ करोड, स्वावलम्बनले १९ अर्ब १६ करोड, डिप्रोक्सले १८ अर्ब ६५ करोड, मेरो माइक्रोफाइनान्सले १५ अर्ब ३ करोड, आरएमडीसीले ३ अर्ब ७० करोड र फर्स्ट माइक्रोफाइनान्सले १ करोड ८९ लाख रुपैयाँ मात्रै कर्जा परिचालन गरेको छ ।

हालको शेयरमूल्य
यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी शेयरमूल्य जीवन विकास लघुवित्तको रहेको छ । जीवन विकासको शेयरमुल्य २७ सयमाथि रहेको छ ।

९ लघुवित्त संस्थामध्ये तीनवटा संस्थाको शेयरमूल्य हालसम्म हजारभन्दा तल रहेको छ भने बाँकी सबैको शेयरमूल्य एक हजार भन्दा माथि रहेको छ ।

खराब कर्जा कुनको धेरै ?
लघुवित्त संस्थाहरुले बैंकबाट केही रकम लिएर आफ्ना सदस्यहरुसमझ कर्जा परिचालन गर्ने गर्दछन् । तर कर्जा प्रवाह गरेका सबैबाट ब्याज आम्दानी प्राप्त हुन्छ नै भन्ने हुँदैन । कतिपय अवस्थामा ऋणीहरुले कर्जा लिएर ब्याज आम्दानीका साथै साँवा समेत नतिरेको अवस्थामा त्यस्ता कर्जालाई निष्क्रिय कर्जा मार्फत गनिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुलेल यस्ता कर्जालाई प्रतिशतका आधारमा देखाउने गर्दछन् ५ प्रतिशतभन्दा माथि पुगेका निष्क्रिय कर्जालाई जोखिमको अवस्था मान्न सकिन्छ । सबैभन्दा बढी निष्क्रिय कर्जा रहने संस्थामा निर्धन उत्थान रहेको छ । संस्थाको यस अवधिसम्म यस्तो कर्जा ८.३८ प्रतिशत रहेको छ । साथै स्वावलम्बनको पनि ७.१० प्रतिशत रहेको छ । यस्तै, अन्य संस्थाहरुको निष्क्रिय कर्जा भने ५ प्रतिशत भन्दा तल नै रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*