दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्तको लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् ।
यी दुई कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि बिहीबार (फागुन ४ गते) बुक क्लोज गर्दैछन् । तसर्थ, आज बुधबार (फागुन ३ गते) सम्म कायम रहने सेयरधनीले मात्र यी दुई कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
अपि पावर कम्पनीले फागुन १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ७.५०% बोनस सेयर र कर तिर्न ०.३९% नगद गरी जम्मा ७.८९% लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा ४०% का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साथै उपकार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ६१.७५% बोनस सेयर र करसहित ३.२५% नगद लाभांश गरी जम्मा ६५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।












