कृषि विकास बैंकमा योग्यता नै नपुगेका रमेश दुवाडी अध्यक्ष, ‘शैक्षिक योग्यताबारे थाहा छैन’: दुवाडी

३ फाल्गुन २०७९, बुधबार १२:४८

काठमाडौं । नेपाल सरकारको मुख्य लगानी रहेको कृषि विकास बैंकको अध्यक्षमा शैक्षिक योग्यता नै नपुगेको व्यक्ति रमेश दुवाडी गैर कानुनी रुपमा अध्यक्षको हैसियतमा कार्यरत रहेको तथ्य फेला परेको छ । २०७८ कार्तिक १२ गते तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीस्तरीय निर्णयमार्फत कृषि विकास बैंकको सञ्चालक नियुक्त गरेका दुवाडीलाई गत पुस ४ गते सञ्चालक समितिले अध्यक्षमा चयन गरेको थियो । उनको शैक्षिक योग्यता बाफियामा तोकिए भन्दा न्यून रहेको फेला परेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा स्पष्ट रुपमा कुनै पनि बैंकको सञ्चालक हुन पाँच वर्ष नेपाल सरकारको अधिकृत स्तरमा काम गरेको वा सम्बन्धित विषयमा स्नातकोत्तर उपाधी हासिल गरेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

कृषि विकास बैंकका अध्यक्ष दुवाडीले स्नातक तह मात्रै उत्तीर्ण गरेका छन् । चितवन घर भएका दुवाडी तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग राजनीतिक पहुँच देखाएर कृषि विकास बैंकको सञ्चालक बनेका थिए । चुनाव सकिए लगत्तै तत्कालिन अर्थमन्त्री शर्मासँग केही रकम लेनदेनमा कुरा मिलेपछि सञ्चालक समितिले अध्यक्षमा नियुक्त गरेको थियो ।

अध्यक्ष दुवाडीसँग उनको शैक्षिक योग्यताबारे जिज्ञाशा राख्दा आफूलाई शैक्षिक योग्यताको विषय थाहा नभएको र नेपाल सरकारले पठाएकोले अध्यक्षको भूमिकामा काम गरेको बताए । उनले भने, ‘अध्यक्ष हुन के चाहिन्छ मलाई थाहा छैन, सरकारले पठायो म आएँ बाँकी कुरा मन्त्रालयमै सोध्नुहोला ।’ अध्यक्ष दुवाडीले उनको शैक्षिक योग्यता कति छ भनेर समेत भन्न चाहेनन् । उनले भने, ‘यो विषय मलाई थाहा छैन अर्थमन्त्रालयमा छ त्यही सोध्नुहोला ।’
उता, बाफिया ऐनको विपरित हुने गरी सरकारी बैंकमै योग्यता नपुगेको व्यक्तिले नियुक्ती लिई कार्यरत रहँदा समेत नियामक निकाय राष्ट्र बैंकले रहस्यमय मौनता देखाएकोछ । अझ रोचक कुरा के छ भने अध्यक्ष पदमा दुवाडीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।

One thought on “कृषि विकास बैंकमा योग्यता नै नपुगेका रमेश दुवाडी अध्यक्ष, ‘शैक्षिक योग्यताबारे थाहा छैन’: दुवाडी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*