नेपाल राष्ट्र बैंक सर्वेक्षणः आगामी एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुन सक्ने अनुमान

३ फाल्गुन २०७९, बुधबार १९:०८

काठमाडौं । सर्वसाधारण उपभोक्ताले आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुनेसक्ने अनुमान गरेको नेपाल राष्ट्र बैंकले बताएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणमा उपभोक्ताले आगामी दिनमा अहिलेको भन्दा पनि बढी मूल्यवृद्धि हुनसक्ने अनुमान गरेका हुन् ।

राष्ट्र बैंकले २४–३० पुस २०७९ मा ६० बजार क्षेत्रका दुई हजार १० जना व्यक्तिहरुसँग अन्तरवार्तामार्फत सम्पन्न गरेको उक्त सर्वेक्षणमा ८४।६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा १० प्रतिशत मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२।३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा १२ प्रतिशतसम्म मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

आगमी तिन महिनामा अहिलेको भन्दा उच्च मूल्यवृद्धि हुने अनुमान १८।१ प्रतिशत, अहिलेकै दरमा मूल्यवृद्धि हुने अनुमान गर्नेको संख्या ३४।५ प्रतिशत र अहिलेको भन्दा मूल्यवृद्धि घट्ने अनुमान गर्ने उपभोक्ताको संख्या ३२।१ प्रतिशत रहेको छ । यस्तै मूल्य स्थिर रहेन अनुमान गर्ने उपभोक्ता १४।३ प्रतिशत र घट्न अनुमान गर्ने उपभोक्ता पनि १।१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आगामी तीन महिनामा मूल्यवृद्धि हुने अनुमान गर्नेको संख्या असोजमा ८६।६ प्रतिशत र असारमा ९४।७ प्रतिशत रहेकोमा पुसमा घटेको छ । आगामी १ वर्षमा मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने अनुमान गर्ने सर्वसाधारण २८।१ प्रतिशत, अहिलेकै दरमा मूल्यवृद्धि हुनसक्ने अनुमान गर्ने सर्वसाधारण ४०।१ प्रतिशत र अहिलेको भन्दा मूल्यवृद्धिदर कम हुने अनुमान गर्ने उपभोक्ता २१।१ प्रतिशत रहको राष्ट्र बैंकले जनाएको छ । यस्तै ६।५ प्रतिशतले मूल्यवृद्धि स्थिर हुने र १।१ प्रतिशतले आगामी १ वर्षमा अहिलेको भन्दा मूल्य घट्नसक्ने अनुमान गरेका छन्।

IESN-Report-2079-80Q2

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*