मिथिला र महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई वटा लघुवित्त संस्थाहरुको लाभांश सुरक्षित गर्ने आज (फाल्गुन ४ ) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाले भोली अर्थात फागुन ५ गते बुकक्लोज गर्दैछन् ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
मिथिला लघुवित्त
मिथिला लघुवित्तले फागुन १७ गते, बुधबार चौधौं वार्षिक साधारण सभा डाकेको छ । सो सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ पुर्याउने, सञ्चालक समितिको २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
महिला लघुवित्त
महिला लघुवित्तले फागुन २१ गते, आइतबार पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।












